Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » उमेदवार रामजीको जिन्दगीको कहानी

उमेदवार रामजीको जिन्दगीको कहानी

मोटो शरीर । आधाजति फुलेको पातलो कपाल । एभ्रेजभन्दा अलि ठूलो नाक । गोलो अनुहार । भद्र ‘ड्रेसअप’मा प्रायः सालिन मुद्रामा देखिन्छन् उनी । विजयको दृढ विश्वास र उच्च साहस बोकेर हिँडेको सिपाहीको जस्तै चालमा हुन्छन् । यस्तो लाग्छ, सामान्य चोटले यिनलाई केही हुँदैन ।

पोखराको शिवालयचोक नजिक प्रायः दुई चार, जना मान्छेसँग चिया पिउँदै गरेको अवस्थामा भेटिन्छन् उनी अर्थात्, माओवादीका नेता रामजी बराल ‘जीवन’ । उनको ‘जक्सन’ जहाँ, नेकपा (माओवादी केन्द्र) को जिल्ला कमिटिको कार्यालय छ । उनी चिया पिउँछन् र अरुलाई पनि चियासँगै राजनीति पिलाउँछन् । अन्यौल र निराशामा रहेका कार्यकर्तालाई प्रशिक्षण दिन्छन् अनि, छ्याङ्ग र उत्साहित बनाएर पठाउँछन् । \नका गफ यथास्थितीको विरुद्ध र परिवर्तनको पक्षमा हुन्छन् । पारिवारीक र राजनीतिक जीवनमा हजार हण्डरसँग खली खेलेर आइसकेको नेता भएकोले पनि होला, उनी सामान्य घटनाबाट तरङ्गित नै हुँदैनन् ।


नेता बराल वि.स. २०२३ साल साउनको २३ गते गरीब किसान परिवारमा जन्मिएका हुन् । कास्कीको पुम्दीभुम्दीस्थित डाँडाथोक, लुकुन्स्वाँरा सुगम गाउँ होइन । बुबा सशीधर बराल र आमा धनरुपालाई बिहान–बेलुकाको छाक टार्नै धौ–धौ थियो । जेनतेन छोरालाई गाउँकै महेश्वरी प्रा.वि.मा पढ्नको लागि भर्ना गरिदिए ।
कमजोर आर्थिक अवस्थाका कारण उनको विद्यार्थी जीवन पनि सहज भएन । बिहान एक भारी र बेलुका एक भारी घाँस उनको ठेक्काजस्तै थियो । घरका अन्य काममा सहभागी हुनुपर्ने वाध्यता पनि भैहाल्थ्यो । उनी घरको काम सकेर आराम गर्न मात्रै विद्यालय जाने गर्थे । स्कूले जीवन सम्झँदै उनी भन्छन्–‘किसानको छोरालाई काम नगरी बस्ने सुविधा कहाँ मिलोस् !’
१० कक्षासम्म पुग्दापनि उनलाई अभावले छोडेन । यथार्थ खुलाउँदै बरालले भने–‘१० कक्षामा पढ्दा पनि म खाली खुट्टै स्कूल जान्थेँ । टालेकै पाइन्ट लगाउँथेँ !’ कपडा सानो भएर लगाउनै नमिल्ने हुँदापनि तिनै कपडा लगाउनुपर्ने वाध्यता थियो । स्कूलमा खाजा खाने त चलनै थिएन !’
१० कक्षामा पढ्दादेखि नै उनी कम्युनिष्ट राजनीतिप्रति आकर्षित भए । समानताको सिद्धान्तबाट उनी प्रभावित भएका हुन् । २०४२ सालमा उनी तत्कालिन मोटो मशालको विद्यार्थी संगठनमा आवद्ध भई शुक्रराज उच्च माविको इकाई कमिटिको अध्यक्ष भए । ४३ सालमा एसएलसी दिएपछि कम्युनिष्ट राजनीतिमा अझै सक्रिय हुन थाले । त्यतिबेला आफूलाई राजनीतिमा लाग्ने प्रेरणा डण्डपाणी बराल र गोमा पौडेलबाट मिलेको उनी बताउँछन् ।
राजनीतिमा सक्रिय हुँदै उनले ४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागीता जनाए । ४७ सालमा उनले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । ४८ मा संयुक्त जनमोर्चा नेपाल गाउँ इकाइको अध्यक्ष र ४९ मा पार्टीको जिल्ला सदस्य बने । त्यतिबेला नेता भनेपछि अति आदार गर्ने, डर लाग्ने र निकै अनुशासित हुने संस्कार रहेको पनि उनले स्मरण गरे ।
२०५१ मा पार्टीको राष्ट्रिय भेलाका लागि उनी प्रतिनिधि छनोट भए । त्यहि भेलाले जनयुद्ध शुरु गर्ने र जनमुक्ति सेना निर्माण गर्ने निर्णय ग¥यो । सो निर्णयबाट उनी असाध्यै खुशी भए ।
५३ मा उनलाई एउटा चिठी आयो । चिठी दिने साथी थिए–तारा अधिकारी । उनले चिठीलाई तिनजनाको बीचमा मात्रै खोल्नु भन्ने निर्देशन सुनाए । हाते चिठीमा पोष्टर र चिठीभित्र पनि अति गोप्य चिठी थियो । पार्टीको निर्देशन बमोजिम नै उनले तिनजनाको बीचमा चिठी खोलेर हेरे ।
चिठीमा जनयुद्ध शुरु भएका पोष्टर र जनयुद्धका लागि तयारी हुन गरिएको अनुरोध थियो । सो चिठीबाट बराल असाध्यै खुशी भए । ‘जनयुद्ध शुरु भएको र तयारी हुन अनुरोध गरिएको चिठी पढेपछि ममा खुशीको सिमै भएन !’–उनले भने–‘त्यसपछि मात्रै मलाई पार्टीप्रति विश्वास लाग्यो र मैले मुक्तिको सपना देख्न थालेँ ।’


२०५३ साल साउन ५ गते उनलाई भेट्न नेता हरिभक्त कँडेल र शिव खनाल घरमै आए । पूर्णकालिन बन्नुपर्ने आवश्यकता औँल्याए । सोही भेटपछि नै उनी व्यक्तिगत जीवन छोडेर पार्टीको पूर्णकालिन कार्यकर्ता बने । ‘पूर्णकालिन बनेपछि म मृत्युको अनुभव लिन आतुर थिएँ । बाँचेर यहाँसम्म आईपुगिएला भन्ने त कल्पनै थिएन !’–बरालले उत्साहित हुँदै भने–‘म अहिलेपनि युद्धमै छु जस्तो लाग्छ ! तर, यो युद्ध अलि फरक प्रकृतिको छ ।’
२०५३ मा पूर्णकालिन बन्नेबित्तिकै उनी तत्कालिन नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य भए । कास्कीमा पार्टीको फौजी र राजनीतिक उपस्थिती जनाउन उनले धेरै योजना बनाए र सफल पनि भए । कास्कीको माओवादी आन्दोलनलाई उचाईमा पुर्याउन उनले कुनै कसुर बाँकी राखेनन् । त्यसैले माओवादीभित्र कास्कीमा बढी योगदान गर्ने नेताका रुपमा उनी चिनिन्छन् ।
५७ मा पार्टीले उनलाई पर्वत जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा पठायो । पर्वतमा पनि उनले माओवादीको सशक्त उपस्थिती देखाइदिए । ५९ मा उनी फेरि इन्चार्जको जिम्मेवारी लिएर कास्कीमा फर्किए । इन्चार्ज मात्रै होइन, सेक्रेटरी पनि उनै थिए ।
उनी जनयुद्धमा निरन्तर सहभागी भइरहे । उनी कमिसार रहेर धेरै फौजी आक्रमण पनि भए । उनी अधिकांस आक्रमणमा सफल बने । उनी भन्छन्–‘जनयुद्ध तत्कालिन समयमा अति आवश्यक थियो । कतिपय ठाउँमा कमीकमजोरी पनि भए । म त्यतिबेलाको कमाण्डरको हैसियतले कमजोरीप्रति आत्मालोचित पनि छु ।’
विभिन्न आरोह–अवरोह छिचोल्दै निरन्तर पार्टीमा सक्रिय बराल हाल नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य छन् । कास्कीको निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट वामगठबन्धनको साझा उम्मेदवार समेत रहेका नेता बराल यतिबेला चुनाबी अभियानमै व्यस्त छन् । उनी भन्छन्–‘चुनाब भनेर मलाई नौलो लागेकै छैन । अघिपछि पनि जनताको सेवाको लागि लागिन्थ्यो अहिले पनि सेवा गर्ने अवसरका लागि भोट मागिएको मात्रै हो !’
‘ख’ को मतदाता भएर ‘क’ को उम्मेदवार किन बन्नुभयो ? भन्ने प्रश्नप्रति खण्डन गर्दै उनले भने–‘म यहि कास्कीमा जन्मे–हुर्केर राजनीति गर्दै आइरहेको मान्छेलाई ‘क’ र ‘ख’ ले फरक पार्दैन । मलाई कास्कीका कुना–कन्दरा सबै थाहा छ । जनताका अपेक्षा र आवश्यकता सबै बुझेको छु । म उम्मेदवार बन्नुसँगै मलाई उम्मेदवार पाउनु पनि मतदाताको सौभाग्यजस्तो लाग्छ !’
तपाईँको निर्वाचन क्षेत्रका के–कस्ता योजना छन् ? भन्ने प्रश्नमा उनले चार पृष्ठ लामो योजना देखाउँदै भने–‘जनताका समस्या बताइसाध्यै छैन । त्यसैले म रातारात कायापलट गर्छु पनि भन्न सक्दिन । तर, विकासका पूर्वाधार निर्माण र विकास नै मेरो प्राथामिकता हुनेछ । साथै, जनजिवीकाका सवालमा म असाध्यै सिरियस छु !’
चुनावी परिणामबारेको जिज्ञासामा उनले आफूले चुनाब जितिसकेको बताए । युद्ध जितेको सिपाहीजस्तै उत्साहित हुँदै बोले–‘चुनाब त जितिसकियो ! औपचारिकता मात्रै बाँकी छ ।’ उनले वामगठबन्धन अति जरुरी रहेको बताउँदै जनता र कार्यकर्ताको भावना बुझेकोमा आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीलाई धन्यावाद समेत दिए । उनी मतदातालाई मतको मूल्य बुझ्न र परिवर्तनको पक्षमा साथ दिन समेत अपिल गर्दै भेटघाटमा व्यस्त छन् ।
कास्कीको राजनीतिक वृत्तमा शालिन, सक्रिय र जनसम्बन्ध राम्रो भएका नेताका रुपमा चिरपरिचित बरालले कहिल्यै राजनीतिक शक्तिको दुरुपयोग नगरेको माओवादी स्रोत बताउँछ । माओवादीका एक कार्यकर्ताले बरालबारे भने–‘जीवन दाइको अवस्था अहिले पनि पहिलेकोजस्तै छ । एक महिनासम्म त्यहि एकजोर कपडा लगाएर हिँड्नुहुन्छ । कार्यकर्ताको समस्या र भावना बुझ्ने र सकेसम्म समाधान गर्ने उहाँको स्वभाव अनुकरणीय छ ।’–बरालको प्रसंसा गर्दै ति कार्यकर्ताले भने–‘जीवन दाई कास्कीको माओवादी आन्दोलनको ब्राण्ड हो ।’

प्रस्तुति : नबराज बराल

Check Also

गुडिरहेको बसबाट हजुरआमासँगै खसेका २२ दिनको बच्चाको मृत्यु, नमस्ते हस्पिटलले उपचार नगरेको गुनासो

रञ्जन अधिकारी / मंसिर २४ गते दिउँसो गुडिरहेको बसबाट खसेर एक बृद्धा र बच्चा एक्कासी सडकमै …