Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » छ करोडको सस्तो बजार

छ करोडको सस्तो बजार

रञ्जन अधिकारी पोखरा, २३ भदौ / पोखराको पृथ्वीचोक स्थित सस्तो बजार स्तरोन्नतिसँगै सञ्चालनमा आउने भएको छ । टेण्डर प्राप्त समूहको हातमा बजार सञ्चालनको अवस्था आएसँगै पुराना संरचना सबै हटाएर नयाँ संरचना सहित बजार सञ्चालनमा आउन लागेको हो । अहिले धमाधम संरचना निर्माण कार्य अघि बढेको छ ।

तीन तला सम्मको बजार बन्ने र कूल तीन सय ९१ व्यवसायिक स्टल रहने सूर्यदील इन्भेस्टमेन्ट कम्पनी प्रालिका एक सञ्चालक युवराज खतिवडाले जानकारी दिए । सबै संरचना तयार हुन झण्डै छ करोड लाग्ने अनुमान गरिएको खतिवडाको भनाई छ । ‘अब व्यवस्थित र व्यवसायिक हिसाबमै अघि बढ्छौं । सानो ठाउँलाई भरपूर उपयोग गरेर नुनदेखि सुनसम्म पाईने किसिमले बजार सञ्चालनमा ल्याउनेछौं ।’ खतिवडाले भने– ‘अब बजार छिरेपछि कुनै सामान पनि नपाईने भन्ने हुँदैन । सस्तो र सर्वसुलभ ढंगले ग्राहकलाई आकर्षित गर्नेछौं । अत्याधुनिक सुविधा सम्पन्न पोखराकै पहिलो बजार हुनेछ । ’

पाँच रोपनी क्षेत्रफलमा रहेको सो बजारमा पार्किङ देखि शौचालयसम्मको व्यवस्था रहने उनले बताए । उनका अनुसार बजारमा सिसीटिभी जडान, निःशुल्क वाईफाई जोन, खानेपानी लगायतका सुविधा समेत रहनेछ । हुने खाने भन्दा गरिखाने व्यवसायीलाई प्राथमिकतामा राखेको खतिवडाले जनाए ।

स्टल बुकिङ धमाधम भईरहेको अर्का सञ्चालक पूर्णबहादुर पाठकले जानकारी दिए । ‘ग्राउण्ड फ्लोरमा रहने स्टलको बुकिङ सकिने क्रममा छ । अन्य तलाको पनि अब संरचना बनिसकेपछि बुकिङ सुरु भईहाल्छ ।’ – पाठकले भने – ‘बजारमा पुराना व्यवसायीलाई प्राथमिकता दिएका छौं । नयाँहरु पनि उत्तिकै उत्साहका साथ आउनुभएको छ ।’

मार्केट ४५ दिनमा पूर्ण सञ्चालनमा आउनेछ भने दशैं अघि नै खुलिसक्ने खतिवडाले जानकारी दिए । उनले पुरानै संरचनामा बजार सञ्चालन भएको खण्डमा मात्र मासिक भाडा र डिपोजिट कम हुने आफूले पहिले बताएको स्मरण गर्दै नयाँ संरचनाका लागि करोडौं लगानी भएको र सुविधा सम्पन्न भएकाले भाडा बढि पर्ने प्रष्ट पारे ।

दुई लाख माथिदेखि झण्डै १६ लाखसम्म धरौटाी तथा १२ हजारदेखि माथि मासिक भाडा कायम गरिएको जानकारी दिँदै उनले त्यहाँ बजार सञ्चालनको अवस्था हेरेर व्यवसायीसँग सहमतिका साथ अघि बढ्ने उल्लेख गरे । कम्पनीले मासिक ११ लाख रुपैंया निगमलाई बुझाउनुपर्ने उनले जनाए ।

यो बजार मुख्य सडकबाट हेर्दा निकै आकर्षक देखिने गरी अगाडि तीन तले भवन, पछाडि दुई तला, बीचमा एक तला र अन्तिममा दुई तला रहेको संरचना बन्ने कम्पनीले जनाएको छ ।

सस्तो बजार सञ्चालनका क्रममा झण्डै एक वर्ष तनावमा गुज्रिएको थियो । सस्तो बजार सञ्चालन भएको नेपाल वायुसेवा निगमको जग्गा छाड्न पहिले व्यापारी व्यवसायी मानेका थिएनन् । प्रशासनले बल प्रयोग गरी हटाएपछि टेण्डर प्राप्त सूर्यदिल इन्भेस्टमेन्ट कम्पनी प्रालिले नयाँ ढंगले बजार सञ्चालन गर्न लागेको हो । कम्पनीको संरक्षक राजेन्द्र गोर्खाली (राजु) हुन् ।

Check Also

प्रशासनले दिउँसो गाडी चलाउन नदिए निर्माण सामाग्रीको मुल्य बढ्ने !

बिग न्यूज पोखरा, २२ असोज । दिउँसोको समयमा निर्माण सामाग्री बोक्ने सवारीसाधनहरु शहरभित्र चल्न नपाउने …