Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद » थाहा पाउनुहोस्: रियल मड्रिड र युभेन्टसको च्याम्पियन्स लिग इतिहास

थाहा पाउनुहोस्: रियल मड्रिड र युभेन्टसको च्याम्पियन्स लिग इतिहास

वैशाख २८ – डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड १५ औं पल्ट च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेल रियल म्याड्रिडले २–१ गोलले गुमाए पनि समग्रमा ४–२ को नतिजा निकाल्दै लगातार दोस्रो वर्ष फाइनल प्रवेश गरेको हो।

रियल म्याड्रिडले उपाधिका लागि युभेन्ट्ससँग भिड्नु पर्नेछ। युभेन्ट्स बुधबार बिहान मोनाकोलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। स्पेनिस क्लब रियल र इटालियन क्लब युभेन्ट्सबीच फाइनल भिडन्त कार्डिफमा ३ जुनमा हुनेछ। यसअघि यी दुई क्लब १९९८ को फाइनलमा भिडिसकेका छन्। हाल रियलको प्रशिक्षक रहेका जिदान त्यतिबेला युभेन्ट्स क्लबमा संलग्न थिए। जुन खेल रियलले जितेको थियो।

रियल मड्रिड योसहित कीर्तिमानी १५ पटक फाइनलमा पुगेको हो । उसले यसअघि भएका १४ फाइनलमा ११ पटक जितेर उपाधि जतेको छ । यस्तै अहिलेसम्म ९ पटक फाइनलमा पुगेको युभेन्टस यसअघिका ८ फाइनलमा दुई पटक जितेको छ । उ ६ पटक फाइनलमा पराजित भएको छ । यो फाइनल हारमा कीर्तिमान हो । रियल मड्रिड र युभेन्टस गरेर समग्रमा यसअघि २२ पटक फाइनल खेलेका छन् ।

युभेन्टसको यसअघिका फाइनल

सन् १९७२/७३: युभेन्टसको यो पहिलो फाइनल हो । यसमा अजाक्ससँग १–० ले परातिज भएर युभेन्टस उपविजेतामा सीमित भयो । सन्

१९८२/८३: क्लबको दोस्रो फाइनल यात्रामा पनि युभेन्टस पराजित भयो । युभेन्टस ह्यामबर्गसँग १–० ले पराजित भएर उपविजेतामा सीमित भयो ।

सन् १९८४/८५: युभेन्टसले यसपटक भने उपाधि जित्यो । लिभपुरसँगको खेलमा ५६ औं मिनेटमा मिचेल प्लाटिनीले गोल गर्दै युभेन्टसलाई उपाधि दिलाए ।

सन् १९९५/९६: अजाक्ससँगको यो फाइनलमा युभेन्टसको दोस्रो भेट थियो । यसपटक निर्धारित र थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा युभेन्टसले ४–२ को जित निकाल्दै उपाधि जित्यो ।

सन् १९९६/९७: लगातार दोस्रो सिजन फाइनलमा पुगेको युभेन्टस यसपटक भने बोरुसिया डर्टमुण्डसँग ३–१ ले परातिज भयो ।

सन् १९९७/९८: लगातार तेस्रो सिजन फाइनल पुगेको युभेन्टस यसपटक रियल मड्रिडसँग १–० ले पराजित भयो ।

सन् २००२/०३: यो पटक अर्को इटालियन क्लब एसी मिलानसँग युभेन्टसले फाइनल खेल्यो । निर्धारित र थप गरिएको समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लियो । त्यसमा मिलान ३–२ ले विजयी भयो ।

सन् २०१४/१५: पछिल्लो पटक युभेन्टस बार्सिलोनासँग फाइनलमा पराजित भयो । बार्सिलोनासँग ३–१ ले हारेर उ उपविजेतामा सीमित भयो ।

रियल मड्रिडको यसअघिका फाइनल

सन् १९५५/५६: रियल मड्रिड पहिलो पटक फाइनलमा पुगेको हो । युरोयिन कपको फाइनलमा रियल मड्रिडले रिइम्सलाई ४–३ ले हराएर उपाधि जित्यो ।

सन् १९५६/५७: लगातार दोस्रो पटक फाइनलमा पुगेको रियल मड्रिडले इटालियन क्लब फियोरेन्टिनालाई २–० ले हराएर उपाधि जित्यो ।

सन् १९५७/५८: लगातार तेस्रो पटक फाइनलमा पुगेको रियल मड्रिडले यसपटक इटालीयन क्लब एसी मिलानलाई अतिरिक्त समयमा ३–२ ले हराएर उपाधि जित्यो ।

सन् १९५८/५९: लगातार चौथो पटक फाइनलमा पुगेको रियल मड्रिडले यसपटक रिइम्सलाई २–० ले हराएर उपाधि जित्यो ।

सन् १९५९/६०: लगातार पाँचौं पटक फाइनल पुगेको रियलले यसपटक फ्र्याँकफर्टलाई ७–३ ले हराएर उपाधि जित्यो ।

सन् १९६१/६२: यसपटक भने रियल मड्रिड पराजित भयो । रियल बेन्फिकासँग ५–३ ले पराजित भएर उपविजेतामा सीमित भयो ।

सन् १९६३/६४: यसपटक पनि रियल मड्रिडले जित्न सकेन । इटालियन क्लब इन्टर मिलानसँग ३–१ ले पराजित भयो ।

सन् १९६५/६६: यसपटक फेरि रियल मड्रिडले जित्यो । पार्टिजनलाई २–१ ले हराएर रियलले उपाधि जितेको हो ।

सन् १९८०/८१: यो पटक रियल मड्रिड लिभरपुलसँग १–० ले पराजित भयो ।

सन् १९९७/९८: यसपटक रियल मड्रिडले युभेन्टसलाई १–० ले हराएर उपाधि जित्यो ।

सन् १९९९/२०००: यो पटक घरेलु प्रतिस्पर्धी भ्यालेन्सियालाई ३–० ले हराएर रियल मड्रिडले उपाधि जित्यो ।

सन् २००१/०२: यो पटक रियल मड्रिडले बार्यर लेभरकुसनलाई २–१ ले हराएर उपाधि जित्यो ।

सन् २०१३/१४: पहिलो पटक उही शहरका क्लबबिच फाइनल भयो । अतिरिक्त समयमा एथ्लेटिको मड्रिडलाई ४–१ ले हराएर रियल मड्रिडले उपाधि जित्यो ।

सन् २०१५/१६: यसपटक पनि फाइनलमा मड्रिड डर्बी नै भयो । निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा रियल मड्रिड ५–३ ले विजयी भयो ।

तथ्यांक स्रोत:  उज्यालो

Check Also

‘११ करोड लागतमा पोखरा रंगशालामा मुलुकमै पहिलो सुविधासम्पन्न डोम’

गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल …