Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » बिग समाचार » पोखरा ‘नो हर्न जोन’ तर एक हप्ता सचेत गराईने अनि मात्रै कारबाही

पोखरा ‘नो हर्न जोन’ तर एक हप्ता सचेत गराईने अनि मात्रै कारबाही

पोखरा १ साउन । पोखरा लेखनाथ महानगरपालिकालाई आइतवार नो हर्न जोन घोषणा गरिएको छ । पोखरा अघि काठमाण्डौमा हर्न बजाउन नपाईने नियम लागू गरिसकेको छ । आइतवार हर्न निषेधित क्षेत्र घोषणा गरिएको भएपनि यसलाई एक सातापछि मात्रै कार्यन्वयनमा लगिने भएको छ ।

विना तयारीको घोषणा कार्यन्वयनमा समस्या हुने देखिएपछि साउन ८ गतेदेखि मात्रै निषेधित क्षेत्रमा हर्न बजाउनेमाथि कारवाही सुरु गर्ने ट्राफिक प्रहरीले जनाएको छ । आम नागरिकलाई सुचना प्रवाह नगरी हलभित्र गरिएको निर्णय र घोषणाले मात्र नपुग्ने निश्कर्ष सहित अझै एक साता प्रचारप्रसारको लागि समय छुट्याइएको हो ।

‘आज घोषणा भएपनि हामी तत्काल कारवाही सुरु गर्दैनौ, ’ ट्राफिक प्रहरी नायब निरिक्षक शिब थापाले भने ‘ एक सातासम्म प्रचारप्रसार गरी साउन ८ देखि कारवाही सुरु हुनेछ । ’ उनका अनुसार साउन ८ गतेदेखि कडाईको साथ घोषणा कार्यन्वयनमा लगिनेछ । मुख्य बजार क्षेत्रभित्र विना कारण हर्न बजाउनेमाथि ट्राफिक प्रहरीले कारवाही सुरु गर्नेछ ।

अनावश्यक रुपमा हर्न बजाए ट्राफिक प्रहरीले सुरुमा ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने र दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ तथा तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

पोखरा लेखनाथ महानगरका कतिपय वडा ग्रामिण क्षेत्रपनि पर्ने भएका त्यस्ता क्षेत्रमा यो नियम लागू हुने छैन । महानगरको मुख्य बजार क्षेत्रमा भने कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

घोषणा सभामा महानगरका प्रमुख मान बहादुर जिसीले विना तयारी घोषणा गरिएको भन्ने गुनासो आएकाले तत्काल जरिवाना गर्ने राजश्व असुल्ने काम नगर्ने र सुरुवातमा सचेत गराएपछि मात्रै कारवाही सुरु गर्ने बताए । नागरिकलाई दुख दिने नियतले भन्दा पनि महानगरमा ध्वनी प्रदुषण कम गर्नका लागि पनि यो घोषणा महत्वपूर्ण रहेको उनको स्पष्टोक्ति छ ।

Peacepokhara

Check Also

साउन १६ देखि पोखरामा ‘मेगा एजुकेशन फेयर’

रेम बिक पोखरा, ९ साउन । पोखरामा दोस्रो सँस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ …