Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखराका होटलमा पानी समेत काठमाण्डौबाट ! अध्यक्षमा पुनः यदुनाथ अधिकारी

पोखराका होटलमा पानी समेत काठमाण्डौबाट ! अध्यक्षमा पुनः यदुनाथ अधिकारी

रञ्जन अधिकारी पोखरा, २६ साउन / नेपाल बोटल वाटर उद्योग संघ, क्षेत्रीय समिति पोखराको अध्यक्षमा पुनः यदुनाथ अधिकारी चयन भएका छन् । संघको विहीबार भएको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यो उनको दोस्रो कार्यकाल हो ।

संघको प्रथम उपाध्यक्षमा गंगाबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजु कायस्थ, तृतीय उपाध्यक्षमा लेखबहादुर प्रधान, महासचिवमा प्रेम क्षेत्री, सचिवमा रविन्द्र अधिकारी, कोषाध्यक्ष हरिबहादुर थापा तथा सहकोषाधयक्षमा हरिकृष्ण थापा चयन भए । सदस्यहरुमा महेन्द्र राना, सुवर्ण थापा, विन्दुकुमारी भण्डारी, प्रतिभा केसी, जीवन पौडेल र कविन्द्र कोईराला चयन भएका छन् ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले खानेपानी जस्तो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने व्यवसाय गर्ने भएकाले संवेदनशील व्यवसायलाई बुझेर अघि बढ्न आग्रह गरे । उनले अनुगमनका क्रममा केहि कमजोरी देखिएकाले सो कमजोरी हटेकोमा विश्वास व्यक्त गर्दै कुनै कुरामा पनि सम्झौता नगरी नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्न आग्रह गरे । यसलाई साईड बिजनेश नभई मुख्य व्यापार बनाएर अघि बढ्न सुझाव दिँदै उनले मेसिनमा छुटका बारेमा सोच्न सकिने उल्लेख गरे । साझा रुपमा ल्याब स्थापना गर्न समेत उनको सुझाव थियो ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुले यहाँ यति धेरै पानीको व्यवसाय फँस्टाउँदै गएको सन्दर्भमा अब पानी निर्यात समेत गर्नुपर्ने र बजारलाई फराकिलो पार्न सुझाव दिए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष बिकल तुलाचनले अझै पनि पोखराका ठूला तथा मध्यम होटलमा काठमाण्डुबाटै खानेपानी आयात भएको यथार्थता सुनाउँदै यहीका व्यवसायीले त्यो बजार हिस्सा ओगट्न सक्ने गरी स्तरोन्नति गर्न सुझाव दिए । उनले एक लिटरको पानीको बोटलसँगै आधा लिटर पानी समेत विक्री भए उपभोक्ता लाभान्वित हुने बताए ।

क्षेत्रीय अस्पताल, चिकित्सा विज्ञान प्रतिष्ठान निर्देशक डा. अर्जुन आचार्यले मानव स्वास्थ्य पानीकै गुणस्तरमा निर्भर हुने भएकाले खानेपानीको व्यवसाय गर्नेहरु यसतर्फ सजग हुनुपर्ने र अरु क्षेत्रभन्दा अत्यन्त संवेदनशील क्षेत्रमा रहेकाले ख्याल गर्न सुझाव दिए । व्यवसायीका तर्फबाट बोल्दै वरिष्ठ सल्लाहकार ऋषि सापकोटाले व्यवासायीहरु पनि आफ्नो व्यवसायप्रति संवेदनशील बन्नुपर्ने, सेवामुखी हुनुपर्नेमा जोड दिँदै व्यवसायलाई सबैको सहयोगको अपेक्षा गरे ।

संघका अध्यक्ष यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगाबहादुर गुरुङ र सञ्चालन सचिव लेखबहादुर प्रधानले गरेका थिए । संघ अन्तर्गत २३ खानेपानी उत्पादक कम्पनी आबद्ध छन् ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …