Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » यसो भन्छन् पोखरा–लेखनाथ वडा नम्बर ३ का काँग्रेसका उम्मेदवारहरु (स्थानिय चुनाव विशेष)

यसो भन्छन् पोखरा–लेखनाथ वडा नम्बर ३ का काँग्रेसका उम्मेदवारहरु (स्थानिय चुनाव विशेष)

रबिन्द्रबहादुर प्रजु (वडा अध्यक्ष )

कलेज पढ्दैताका २०३६ सालमा नेपाल विद्यार्थी संघको राजनीति गरेर रबिन्द्रले आफ्नो राजनीतिक यात्रा शुरुवात गरेका हुन् । त्यसो त उनी काँग्रेस परिवारमै जन्मिएका हुन् । काँग्रेसप्रति बुझ्ने भएदेखि लगाव राख्ने रबिन्द्र यतिबेला काँग्रेसकै तर्फबाट वडा नम्बर ३ को अध्यक्ष पदका दाबेदार हुन् । र, आफुले वडा अध्यक्ष पदमा जित हासिल गर्ने कुरामा उनी ढुक्क छन् ।

उनी २०४६ सालमा नेपाली काँग्रेस वडा नम्बर ३ को सचिव भएर काम गरिसकेका छन् । त्यस्तै उनी ६४ सालमा वडा सभापति बने । १३ औ अधिवेशनसम्म उनी सभापतिको रुपमा कायम नै रहे । सो अवधीमा उनले वडाको समस्याहरुलाई नजिकबाट नियालेका छन् । र, भन्छन्–‘वडा नम्बर ३ लाई मैले महानगरकै नमुना वडा बनाउने सपना साँचेको छु ।’ प्रजु आफ्नो सपना साकार गराउनका लागि आफुसँग कार्ययोजना पनि तम्तयार रहेको बताउँछन् ।

सामाजिक क्षेत्रसँग पनि आबद्ध उनी धेरै संघसंस्थामा जोडिएका छन् । पोखरा जेसिजको वर्ष १९९८ को अध्यक्ष भैसकेका प्रजु लायन्स क्लब अफ पोखरा अन्नपूर्णका वर्तमान अध्यक्ष समेत हुन् । २०६२ साल यता उनी पोखरा उद्योग वाणिज्य संघको सदस्य हुँदै हाल वरिष्ठ उपाध्यक्ष सम्म आईपुगेका छन् । यो बीचमा पोखरा उद्योग वाणिज्य संघमा उनी २०६६ सालमा उपमहासचिव, २०६८ सालमा कोषाध्यक्ष र २०७० सालमा महासचिवमा निर्वाचित भएका थिए । पोखरा भाँडा व्यवसायी संघका संस्थापक अध्यक्ष प्रजु विभिन्न खेलकुद सम्बन्धित संघसंस्थाहरुसँग पनि आबद्ध छन् ।

‘मेरो वडामा रहेका दाजुभाईहरुको सेवाका लागि मैले उम्मेदवारी दिएको हुँ । र, मलाई आशा छ मेरा दाजुभाई दिदीबहिनीहरुले मलाई सेवा गर्ने मौका दिनुहुनेछ ।’ घरदैलो कार्यक्रममा रहेका प्रजुले भने । आफु वडा अध्यक्षमा निर्वाचित भएको खण्डमा समग्र वडाको विकासका लागि समर्पित हुने प्रजुले विश्वास दिलाए । वडामा शान्ति सुरक्षासँगै वडाबासीलाई पर्ने प्रशासनिक झमेला निराकरणका लागि आफुले पहल कदमी थाल्ने उनले प्रतिबद्धता जनाए ।

त्यो सँगै विकास निर्माणको गतिलाई पनि तिव्र पार्ने उनले बताएका छन् । कन्या क्याम्पसदेखि नारायणथानको मोटरबाटो पिच गर्ने देखि कपिलढुंगादेखि कल्पना हलसम्मको बाटो खुलाउनेसम्मका उनको कार्ययोजना छन् । वडाका सम्पूर्ण टोलमा सडक सोलार बत्ति जडान गर्ने उनको योजना छ । त्यो सँगै वडाको शैक्षिक स्तरोन्नतीका लागि वडामा रहेका २ वटा सरकारी स्कुलको शैक्षिक विकासका लागि आफुले जोड दिने उनले बताएका छन् । युवाहरुलाई रोजगारीको अवसर सृजना गर्नुसँगै वडामा रहेका महिलाहरुलाई स्वरोजगार बनाउन सिपमुलक तालिमको व्यवस्था गर्ने उनको कार्ययोजनामा समावेश छ ।

सम्पूर्ण कार्ययोजना पुरा गराउनका लागि वडाबासीहरुको भोट आवश्यक रहेको भन्दै उनले वडा नम्बर ३ मा नेपाली काँग्रेसलाई जिताउन जनतासँग आह्वान समेत गरेका छन् ।

सबि परियार (साबित्रि)

४५ वर्षिया सबि परियार वडा नम्बर ३ को दलित वडा सदस्य उम्मेदवार हुन् । दलित भएर मात्रै नभई आफु टोलको विकासका लागि सक्षम पनि भएकोले आसन्न स्थानिय निर्वाचनमा पोखरा–लेखनाथ महानगरको वडा नम्बर ३ को सदस्य पदमा उम्मेदवारी दिएको बताईन् । ‘मैले यो मौकालाई त्यतिकै खेर जान दिनेछैन । टोलबासीको सेवा गर्ने यस्तो मौकालाई मैले स्वच्छ भावनाले कदर गर्दै त्यसलाई कार्यान्वयन गर्नेछु ।’ सबिले भनिन् ।

विशेषगरि दलित समुदायलाई लक्षित गरेरै उनले आफ्नो कार्ययोजना बनाएकी छन् । वर्षौदेखि उत्पिडनमा परेका दलित समुदायको हकहितका लागि आफुले आवाज उठाउने उनले बताईन् । ‘हरेक क्षेत्रमा दलित समुदायलाई पछाडि पारिएको छ । तर म मेरो समुदायलाई माथि उठाउनका लागि मेरो टोलबाट शुरुवात गर्नेछु । र, मेरो यो उम्मेदवारीलाई यहाँका सम्पूर्ण दलितहरुको उम्मेदवारीको रुपमा लिएको छु ।’

उनले दलितहरुको शैक्षिक विकासका लागि वडामा रहेका सरकारी स्कुलहरुको स्तरोन्नती गर्नेमा जोड दिईन् । काँग्रेस परिवारमै जन्म लिएकी परियार लामो समय यता काँग्रेस सम्बद्ध महिलाहरुको समुहमा बसेर काम गरिसकेकी छन् । उनी २०६३ सालमा तरुण दलको जिल्ला सदस्य रहेर समेत काम गरिसकेकी छन् । दलित संघ कास्कीको पनि सदस्य रहेकी परियार आफुलाई जिताउन सम्पूर्ण वडाबासीलाई आह्वान गर्छिन् । ‘वडाको समग्र विकासका लागि नेपाली काँग्रेसलाई रुख चिन्हमा भोट हालेर जिताउनुहोस् । अरुले बोल्छन् तर हामी गरेर देखाउँछौँ ।’

लक्ष्मी पराजुली (महिला सदस्य)

उमेरले ६३ वर्ष छोएपनि लक्ष्मी पराजुलीको सक्रियता वडामा कायमै छ । नेपाली काँग्रेसको तर्फबाट वडा नम्बर ३ मा महिला सदस्यको रुपमा उ्रम्मेदवारी दिएकी पराजुली यतिबेला सबैभन्दा जागरुक भएर घरदैलोमा पुगी काँग्रेसको पक्षमा भोट मागिरहेकी छन् । २० वर्षयता निरन्तर नेपाली काँग्रेस सम्बद्ध वडाका विभिन्न संगठनमा रहेर काम गरिरहेकी पराजुलीले वडाको वृहत्तर विकासका लागि आफुले उम्मेदवारी दिएको बताईन् ।

त्यो सँगै उनले वडामा रहेका ज्येष्ठ नागरिकहरुका लागि आफुले काम गर्ने योजना बनाएको बताईन् । ‘काँग्रेस पार्टी सबै तह र तप्काको पार्टी हो भन्ने कुरालाई पुष्टी गर्न मैले उम्मेदवारी दिएकी हुँ । र, मलाई भोट हालेर जिताउनुस्, वडामा परिवर्तन ल्याउने जिम्मा म सहित सम्पूर्ण उम्मेदवारहरुको भयो ।’ काँग्रेसप्रति वडा नम्बर ३ का जनताको धारणा निकै सकारात्मक रहेको बताउँदै उनले जित लगभग सुनिश्चित रहेको बताईन् ।

२०५२ सालदेखि आमा समूहको अध्यक्ष हुँदै वडामा काम गर्दै आएकी पराजुली नेपाली काँग्रेस अन्तरगतको महिला संघको वडा ईकाई सभापति समेत भैसकेकी छन् । त्यस्तै उनी शिशु स्याहार व्यवस्थापन समितिका सँयोजक भएर २० वर्षयता काम गर्दै आएकी छन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको मुद्दालाई अगाडि लिएर चुनावमा होमिएकी पराजुलीले वडाको विकासका लागि खानेपानी र ढलको व्यवस्थापनालाई पनि आफ्नो कार्ययोजनामा पारेकी छन् ।

जितेन्द्र कायस्थ (खुला सदस्य)

४९ वर्षे जितेन्द्र कायस्थ पोखरा–लेखनाथ महानगरको वडा नम्बर ३ मा नेपाली काँग्रेसको जित निश्चित रहेको बताउँछन् । ‘म सदस्यको उम्मेदवार भएर मात्रै यो भनेको होईन । यो वडा पहिल्यैदेखि काँग्रेसको गढ नै हो । त्यसैमाथि अहिले हामी घरदैलोमा जाँदा जनताले दिने प्रतिक्रियाले गर्दा मैले यो दाबा गरेको हुँ ।’ सबैले प्रजातन्त्र चाहने र त्यो खाले प्रजातान्त्रिक सँस्कार काँग्रेससँग मात्रै भएकोले गर्दा जनताको आकर्षण पार्टीप्रति बढि भएको उनले बुझेका छन् ।

२०३६ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय कायस्थले नेपाल तरुण दलको वडा ईकाई समितिको सभापतिको रुपमा दुई कार्यकाल काम गरिसकेका छन् । युवाहरुमाझ लोकप्रिय समेत रहेका कायस्थले आफु निर्वाचित भएको खण्डमा वडाको समग्र विकाससँगै युवाहरुलाई विकासको काममा परिचालन गर्ने कार्ययोजना बनाएका छन् । ‘मेरो उम्मेदवारी भनेकै राजनीतिको लागि भन्दा पनि वडाको विकासका लागि हो ।’ कायस्थले भने ।

निर्वाचित भएसँगै वडामा भएका मापदण्ड विपरितका संरचनाहरुलाई कानुनी दायरामा ल्याउन, खानेपानी, ढल, नालाको विकास गर्ने उनको कार्ययोजना रहेको छ । साथै टोलमा रहेका विभिन्न जाति, धर्म र सँस्कारसँग जोडिएका संकृण सोँचलाई हटाउनका लागि आफुले पहलकदमी थाल्ने उनले बताए । ‘सबैमा एकरुपता र समान व्यवहार गर्नुपर्छ भन्ने भावनाको विकास गराउनतर्फ म अग्रसर हुनेछु ।’ कायस्थले भने ।

रबिन कायस्थ (खुला सदस्य)

१५ वर्ष यता नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका रबिन कायस्थ ३६ वर्षिय जोशिला युवा हुन् । उनमा केहि गर्ने जोश र जाँगर छ । आफ्नो वडालाई सम्बृद्ध बनाउने उनको सपना छ । र, यहि सपना साकार पार्नका लागि उनले वडा सदस्यको रुपमा काँग्रेसको तर्फबाट आफुलाई उभ्याएका छन् ।

नेपाली काँग्रेसको नगर सदस्य, तरुण दलको जिल्ला सदस्य, लोकतान्त्रिक खेलकुद संघको जिल्ला सदस्य भएर काम गरिसकेका कायस्थले आफु निर्वाचित भएको खण्डमा वडा नम्बर ३ मा रहेको सुकुम्बासी वस्तीलाई व्यवस्थित गराउने बताउँछन् । ‘सुकुम्बासी वस्तीमा रहेको खानेपानी, बत्ति, ढलनिकासा जस्ता समस्याको समाधान गर्ने मेरो कार्ययोजना छ ।’ उनले भने–‘साथै ती क्षेत्रको सडकको स्तरोन्नतीसँगै अन्य विकासका कामप्रति मेरो ध्यान बढि खिचिएको छ ।’ आफु निर्वाचित भए यी सबै कार्ययोजना पुरा गराउन कुनै कसर बाँकी नराख्ने बताउने कायस्थले त्यसका लागि वडाबासीले आफुलाई भोट गर्नुपर्ने बताए ।

आफु वडाको विकासका लागि प्रतिबद्ध भएर लागेको बताउँदै उनले सम्पूर्ण वडाबासीलाई नेपाली काँग्रेसको पक्षमा मत हाल्त आह्वान समेत गरेका छन् । ‘यहाँ रहेका धार्मिक क्षेत्रहरुको विकास गर्ने पनि मेरो योजना रहेको छ ।’ उनले भने–‘यी सबै योजनालाई मुर्त रुप दिन वडा नम्बर ३ का जनताले म सहित अन्य नेपाली काँग्रेसका उम्मेदवारहरुलाई भोट भने दिनैपर्छ ।’
प्रस्तुती : रेम बिक

Check Also

वामपन्थीहरु संविधान खारेज गर्नतर्फ उन्मुख छन् : गुरुप्रसाद बराल

बिग न्यूज पोखरा, २ मंसिर । शुक्रबार घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ …