Listen BIG FM 101.2 MHz LIVE

Get the Flash Player to see this player.
Latest News
Home » National News » आज २९५ औं पृथ्वीजयन्ती, सरकारले विदा दिएन, विविध कार्यक्रम हुँदै
आज २९५ औं पृथ्वीजयन्ती, सरकारले विदा दिएन, विविध कार्यक्रम हुँदै

आज २९५ औं पृथ्वीजयन्ती, सरकारले विदा दिएन, विविध कार्यक्रम हुँदै

काठमाडौं, २७ पुस-
आज २९५ औं पृथ्वी जयन्ती विविध कार्यक्रम गरी मनाइँंदै छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा सरकारीस्तरबाटै मनाइनुपर्ने र सार्वजनिक विदा दिइनुपर्ने आवाज उठिरहेका बेला जनस्तरबाट पृथ्वी जयन्ती मनाउन लागिएको हो । तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा योगदान पुर्‍याएका थिए ।

पृथ्वीनारायण शाह २० वर्षको उमेरमा राजा भएका थिए । र ५३ वर्षको उमेरमा नै उनको निधन भयो । करिब तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत शाहले आफू राजा भएदेखि नै नेपाल एकीकरण अभियानको आरम्भ गरेका थिए ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले विक्रम सम्वत् १८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर नेपाल एकीकरणको अभियान सुरु गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुरहुँदै उनले एकीकरण अभियानलाई अघि बढाएका थिए । शाहले पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन ।

तत्कालीन बाइसे चौबीसे राज्यहरुलाई एकीकरण गरेर अहिलेको भन्दा झण्डै डेढ गुणा ठूलो नेपाल राष्ट्रको निर्माण गर्न पृथ्वीनारायण शाहले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

नेपालमा गणतन्त्र आउनुपूर्व पुस २७ गतेलाई सरकारबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने चलन थियो । यसदिन सरकारले सार्वजनिक विदा दिने गरेको थियो । गणतन्त्र स्थापनासँगै देशमा राजतन्त्रको अन्त्य भएको र परिवर्तनलाई संस्थागत गर्ने भन्दै सार्वजनिक विदालाई हटाइएको हो ।
सरकारले कुनै औपचारिक कार्यक्रम नगरे पनि विभिन्न समूहले भने आज विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*