Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » श्रीकृष्ण जन्माष्टमी केदारेश्वरमा, कार्यक्रम भव्य बनाउन विभिन्न प्रतियोगिता

श्रीकृष्ण जन्माष्टमी केदारेश्वरमा, कार्यक्रम भव्य बनाउन विभिन्न प्रतियोगिता

पोखरा, २८ साउन / पोखरामा श्रीकृष्ण जन्माष्टमी पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । तीन दशकदेखि सनातन धर्म सेवा समितिले शोभायात्रासहित विन्ध्यवासिनीमा मनाउँदै आएको श्रीकृष्ण जन्माष्टमी यसपालिदेखि विश्व हिन्दू महासंघ कास्कीले शोभायात्रासहित केदारेश्वर मन्दिर परिसरमा मनाउँदै छ ।

श्रीकृष्ण जन्माटमी महोत्सव मूल समारोह समिति यही सोमबार सभागृहदेखि बिहान झाँकीसहितको शोभायात्रा निकाल्दैछ । शोभायात्रा सृजनाचोक, रत्नचोकहुँदै बैदामस्थित केदारेश्वर मन्दिर पुग्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जन्माष्टमी पर्व भव्य बनाउन विभिन्न प्रतियोगितासमेत आयोजना गरिएको प्रचार उपसमिति संयोजक दुर्गा अधिकारीले जानकारी दिइन् ।
केदारेश्वर मन्दिर नजिक कोमागानेपार्कमा हुने विशेष समारोहमा भजन चुड्का प्रतियोगिता हुनुको साथै राधाकृष्ण प्रतियोगिता, उत्कृष्ट सहभागी संस्था, उत्कृष्ट भजन झाँकी प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिनेछ । साथै कृष्ण झुला, कृष्ण पूजन मुख्य आकर्षण छन् ।

विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले बोलबमको अन्तिम सोमबार परेको ५२४४ औं श्रीकृष्ण जन्माष्टमीलाई भव्यरुपमा सम्पन्न गर्न सम्पूर्णलाई सहयोगको लागि आग्रह गरे ।

कार्यक्रमअन्तर्गत कृष्णजन्माष्टमी पूजन एवं कृष्णझूला ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ भने केदारेश्वर मन्दिरका पीठाधीश डा.लेखनाथ आचार्य, युवापण्डित दीपक सापकोटाले प्रवचन दिनेछन् ।

त्यस्तै, भजनचुड्कामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ पुरस्कार दिइनेछ । दोस्रोलाई २०, तेस्रोलाई १०, सान्त्वनालाई ३ हजार, उत्कृष्ट नृत्य ५ हजार र उत्कृष्ट भजनझाँकीलाई ५ हजार पुरस्कार दिइनेछ ।

शोभायात्रामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र २ हजार रुपैयाँ पुरस्कार दिइनेछ । शोभायात्रामा उत्कृष्ट सहभागी टिमलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार दिइनेछ ।

यसैबीच, बोलबम जलयात्राका सहभागी भक्तजन उक्त दिन सोमबार परेकोले बगरबाट जल लिई सभागृहबाट सुरु हुने श्रीकृष्ण जन्माष्टमी शोभायात्रामा मिसिने कार्यक्रम छ । उक्त कार्यक्रममा मानव मिलन संस्थाका संस्थापक नेपालकेशरी डा मणिभद्र मुनिजी महाराजको सानिध्यता हुनेछ ।

प्रचार संयोजक दुर्गा अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केदारेश्वर मन्दिर पीठाधीश डा. लेखनाथ आचार्य, विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खराल, जिल्ला सचिव रामजी बराल, कोषाध्यक्ष तीर्थराज अधिकारी, महिला नगर समिति अध्यक्ष पार्वती पौडेललगायत बोलेका थिए ।
प्रचार उपसमिति सचिव दीननाथ बरालले संचालन गरेको पत्रकार कार्यक्रममा सहसंयोजक विजय नेपालले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …