Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » संगठनमा अराजकता हावी हुँदा हारियोः माओवादी

संगठनमा अराजकता हावी हुँदा हारियोः माओवादी

रञ्जन अधिकारी पोखरा, २२ साउन / विस्तारै आफ्नो शाख गुमाउँदै गएको नेकपा माओवादी केन्द्रले निर्वाचनमा यस्तो खराब नतिजा व्यहोनुपर्नाको मुख्य कारण संगठनमा अराजकता हावी, भद्दा कमिटि र अस्तव्यस्तता रहेको भन्दै जिल्ला संयोजकले नेतृत्वको खबरदारी गरेका छन् ।

पोखरामा आईतबार सुरु नेकपा (माओवादी केन्द्र) प्रदेश नम्वर ४ को प्रशिक्षण भेलामा प्रदेश अन्तर्गतका जिल्ला संयोजकहरुले चुनावी रिपोर्ट प्रस्तुत गर्दै चुनावी तालमेलमा पहल लिन नसक्नु पनि कमजोरी भएको उल्लेख गरे । उनीहरुले राजनीतिक मुद्दाअनुसार संगठनमा पहलको कमि, नेताहरुको निष्क्रियता, आर्थिक, सांस्कृतिक र संगठनात्मक अनुशासनको समस्या, पार्टीभित्र विचार समूह छैनन् तर, आआफ्ना गुट बनाउने समस्या रहेको बताए । प्रचारको कमि, विरोधीका भ्रम चिर्न असफल हुनु, नेता, कार्यकर्तामा निरासा, मनोबलको कमि, चुनावी खर्च गर्न नसक्नु लगायतका कारण पनि स्थानीय तह चुनावमा नराम्ररी पराजित भएको उनीहरुको ठहर थियो ।

कास्कीका दीपक कोइराला, गोरखाका लेखबहादुर थापा, तनहुँका राजेन्द्रकेशरी न्यौपाने, लमजुङका मधु अधिकारी, स्याङ्जाका शैलेन्द्र घिमिरे, पर्वतका सुदिप कुंवर, म्याग्दीका गोविन्द पौडेल, बाग्लुङका चन्द्रबहादुर थापा, नवलपुरका मित्रशरण शर्मा, मनाङका नेपबहादुर गुरुङ र मुस्ताङका सत्यनारायण शेरचनले जिल्लाका चुनावी रिपोर्ट प्रस्तुत गरे । बैठकमा महाधिवेशन आयोजक समितिका ५०० जना सदस्यहरु सहभागी छन् ।

बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सबै माओवादी एक हुनुको विकल्प नरहेको जनाए । यसअघि काठमाडौंमा एक सातासम्म बसेको माओवादी केन्द्रको सचिवालयको बिस्तारित बैठकले पनि बाबुराम, वैद्य र विप्लवलाई एकताको आह्वान गरेको थियो । तर, तीनै जना नेताहरुले त्यसलाई अस्वीकार गरिसकेका छन् ।

प्रचण्डले नयाँ शक्ति पार्टीमा रहेका पूर्वमाओवादी सबै नेताहरु फर्किन लागेको दाबी गरे । जनताले फुटलाई अस्वीकार गरेकाले अब माओवादी एक हुनुको विकल्प नरहेको उनको भनाई छ ।

मोहन वैद्य र विप्लव नेतृत्वको नेकपाभित्र पनि एकताका लागि दवाव परेको प्रचण्डले दाबी गरे । ‘वैद्यजी, बाबुरामजी लगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो । तर, सक्नुभयो त ?’ प्रचण्डले भने, ‘जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे । अब माओवादी एक हुनुको विकल्प छैन ।’

प्रचण्डले भने पार्टीलाई रुपान्तरण गर्ने र नयाँ बनाई छोड्ने संकल्प आफूहरुले गरेको भन्दै एकताको मुख्य जिम्मेवारी पूरा गरेरै छाड्ने बताउँदै आएका छन् । ‘२ नम्वर प्रदेशमा परिणाम बाँकी छ । तर, ६ प्रदेशको परिणामले सबै माओवादीहरु माओवादी केन्द्रमा आउ भन्यो । जनताले हामीलाई एकताको नेतृत्व गर्न पनि आदेश दिएका छन्’ प्रचण्डले भने ।

वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै माओवादी केन्द्रको समस्या हो भन्दै प्रचण्डले त्यसलाई सुधार्नुपर्नेमा जोड दिए । संगठन सुदृढिरणमा अब विशेष जोड दिनुपर्ने धारणा राखे । राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा देशव्यापी बहस र अभियान चलाउने उनले बताए । एमालेलाई संघीयता घाडो भएको र गणतन्त्र पनि मन नपरेको भन्दै प्रचण्डको आरोप थियो ।

यसैगरी, रामबहादुर थापा बादलले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र तेस्रो हुनुलाई रुपान्तरणको अपेक्षा राखेर जनताले दण्डित गरेको रुपमा लिनुपर्ने बताए । माओवादीको जनमत कमजोर नभएको र निर्वाचन परिणामले माओवादी नेपाली राजनीतिको वैकल्पिक धारा स्थापित भएको उनको दाबी छ । देशैभर काँग्रेससँग तालमेल गरेको माओवादीले उसको विरोध गर्न भने छाडेको छैन ।

‘कांग्रेस, एमालेको वैचारिक धारामा खासै अन्तर छैन । उनीहरुका एजेण्डा र दृष्टिकोणमा ठूलो अन्तर छैन । उनीहरु परिवर्तनको बाहक होइनन् ।’ नेता बादलले भने – जनताले हामीलाई क्रान्तिकारी बिकल्पका रुपमा छानेका छन् । तर, हाम्रा कमजोरीलाई जनताले दण्डित पनि गरेका छन् । रुपान्तरणको अपेक्षा राखेका छन् ।’उनले संगठनहरुलाई क्रान्तिकारी जनसंगठनका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नारायणकाजी श्रेष्ठ प्रकाशले बिचार समूह नभएको र स्वार्थ समूह बिघटन नभइसकेको बताए । उनले संगठनात्मक व्यवस्थापन र सुदृढ एकता पनि नभएको बताए । हरहालतमा माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने भन्दै उनले त्यसमा दायाँ(बायाँ गर्ने छुट कसैलाई नभएको बताए ।

सरकारमा रहेर राम्रा काम गरे पनि प्रचार गर्न नसक्दा चुनावमा अपेक्षाकृत परिणाम नआएको श्रेष्ठले बताए । पार्टीलाई एकतावद्ध बनाएर गएमा आगामी निर्वाचनमा राम्रो विजय हासिल गर्न सक्ने उनले बताए । पार्टीको प्रचार संयन्त्र धेरै नै कमजोर भएको भन्दै उनले भने, ‘अध्यक्ष प्रचण्डले गरेजस्ता कामको प्रचार गर्न नसकेको सरकारमा बसेर कांग्रेस, एमालेले गर्थे भने त्यसलाई धेरै प्रचार गरिन्थ्यो । तिललाई पहाड बनाइन्थ्यो ।’

Check Also

उपसभामुख एमाले प्रवेश, एमालेले हिमाल पहाड तराई जोड्ने काम गरे: यादव

आश्विन २९, २०७४-निवर्तमान उपसभामुख एवं राप्रपा नेता गंगाप्रसाद यादव एमाले प्रवेश गरेका छन् । एमाले …