Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » पोखरामा ‘प्रेमगीत २’ को भव्य प्रिमियर, उत्कृष्ट प्रतिक्रियाले निर्माण यूनिट दंग

पोखरामा ‘प्रेमगीत २’ को भव्य प्रिमियर, उत्कृष्ट प्रतिक्रियाले निर्माण यूनिट दंग

रेम बिक
पोखरा, ११ साउन । पोखरामा चलचित्र ‘प्रेमगीत २’ को भव्य प्रिमियर भएको छ । प्रदर्शनको केहि दिन अगाडि मात्रै भएको प्रिमियरमा सहभागी सम्पूर्णले चलचित्रले निकै उत्कृष्ट प्रतिक्रिया दिए । प्रिमियरको लागि चलचित्र यूनिट पोखरा आएको थियो ।

प्रिमियर पछि चलचित्र हेर्ने दर्शक, फिल्मकर्मी र संचारकर्मीले ‘प्रेम गीत २’ व्यवसायिक हिसाबले पनि राम्रो हुने दाबी गरे । पोखराको ‘क्यूएफएक्स सिनेप्लेक्स’मा भएको प्रिमियरमा चलचित्रका निर्देशक रामशरण पाठक, नायक प्रदिप खड्का, नायिका अश्लेषा ठकुरी, निर्माता सन्तोष सेनसहितको टोलीको सहभागीता रह्यो ।

‘प्रिमियरबाट पाएको प्रतिक्रियाले मलाई झन् बढि उर्जा मिलेको छ । हामी सम्पूर्ण टिम मिलेर गरेको मेहेनतले प्रशंसा पाउँदा निकै दंग पनि छु ।’ फिल्मका निर्देशक रामशरण पाठकले भने–‘रिलिज पछि पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा गरेको छु ।’ त्यस्तै फिल्मका निर्माता सन्तोष सेनले पनि लगानी अनुसारको प्रतिफल पाउँदा आफुलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।

पोखरामा ‘प्रेम गीत २’ प्रिमियरको माहौल फेसबुक ग्रुप ‘एमआरआर’ले मिलाएको थियो । ‘एमआरआर’का थुप्रै सदस्यहरु पनि प्रिमियरमा सहभागी थिए । खासगरि प्रिमियरमा नायक प्रदिप खड्का र नायिका अश्लेषा ठकुरी फ्यानहरुबाट घेरिएका थिए । प्रदिप र अश्लेषासँग ‘सेल्फी’ खिचाउनेहरुको भीड निकै बाक्लो थियो । प्रदिपलाई ‘सुपरस्टार’ भन्दै ‘एमआरआर’का सदस्यहरु हुटिङ गर्दै उचालेका थिए ।

आशुसेन फिल्मस्को प्रस्तुतीमा सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’ यहि शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ । दर्शकका लागि ‘मस्ट अवेइटेड’ मानिएको चलचित्र यतिबेला निकै चर्चामा पनि छ । खासगरि सामाजिक संजालहरुमा चलचित्रको प्रचार सामाग्रीहरु निकै रुचाईएका पनि छन् । निर्माण यूनिटले पनि चलचित्रको व्यापार उत्कृष्ट हुने दाबी गरिरहेको छ ।

चलचित्र ‘प्रेमगीत २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । प्रिमियरमा पुरुषोत्तम प्रधानको पनि निकै प्रशंषा भयो । नेपालका विभिन्न स्थान र थाइल्याण्डलाई निकै सुन्दर ढंगले खिचेको भन्दै दर्शकले उनको कामलाई पनि निकै रुचाए । त्यस्तै चलचित्रको गीतसंगीत पक्ष पनि निकै उत्कृष्ट भएको प्रतिक्रिया प्रिमियरमा मिल्यो ।

Check Also

नागरिक अभियन्ता पौडेललाई सामाजिक सेवा सम्मान

रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा बस व्यवसायी समितिले हर्क बहादुर गुरुङ स्मृति सामाजिक …