Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » मिनी रंगशालाको कन्सेप्टमा ‘रानीपौवा स्पोर्टस् सेन्टर’

मिनी रंगशालाको कन्सेप्टमा ‘रानीपौवा स्पोर्टस् सेन्टर’

रेम बिक
पोखरा, ३१ जेठ । फोटोपत्रकारिता र फिल्मकर्ममा रमाईरहेका जितेश प्रधान आजकल पोखरा रानीपौवाको ‘रानीपौवा स्पोर्टस् सेन्टर’मा भेटिन्छन् । जिमखाना, फुटसल, कार्डियो, जुम्बा र रेस्टुरेन्टमा उनलाई भ्याईनभ्याई हुन्छ । स्पोर्टस् सेन्टरमा आउने दैनिक ३ सय भन्दा बढि व्यक्तिसँग उनको साक्षात्कार हुन्छ ।

स्पोर्टस् सेन्टरमा भ्याईनभ्याई भएकैले उनी अहिले फोटो पत्रकारिता र फिल्म मेकिङमा केहि सुस्त हुँदै गएका छन् । ‘पत्रकारिता र फिल्ममेकिङलाई मैले छाडेको होईन, तर स्पोर्टस्मा केहि गरौँ भन्ने लागेको भएर नै मैले रानीपौवा स्पोर्टस् सेन्टरको अवधारणालाई मूर्तरुप दिएको हुँ ।’ जितेश भन्छन् । त्यसो त जितेश आफुलाई पहिल्यैदेखि पत्रकारिता र फिल्ममेकिङसँगै खेलकुदलाई पनि ‘प्यासन’ बनाएर हिँडेको व्यक्तिको रुपमा चिनाउन चाहन्छन् ।

करिब १ वर्ष भयो, रानीपौवा स्पोर्टस् सेन्टर संचालनमा आएको । व्यवसायिक रुपमा यति धेरै विधामा प्रशिक्षक नै राखेर खोलिएको पोखराको पहिलो ‘स्पोर्टस् सेन्टर’ हो, ‘रानीपौवा स्पोर्टस् सेन्टर’ । ‘एउटै छानामुनी जिमहल, जुम्बाहल, फुटसल, कार्डियो हलसँगै रेस्टुरेन्टसमेत भएको हेल्थ क्लब पोखरामा अरु छैनन् । त्यसैले म यसलाई मिनी रंगशाला भन्न रुचाउँछु ।’ जितेश भन्छन्–‘अझै यसमा हेल्थसँग जोडिएका अन्य सुविधाहरु पनि हामीले थप्दै जाने योजनामा छौँ ।’ केहि समयमै ‘साउना स्टिम’को सुविधा थप्ने जितेशले बताए ।

१ करोड ५० लाख रुपैयाँभन्दा बढिको लगानीमा तयार भएको ‘स्पोर्टस् सेन्टर’मा जितेश एक्लै संचालक होईनन् । उनीसँगै दिपक बाँस्तोला, सुभाषचन्द्र बस्नेत र राजिव श्रेष्ठ ‘स्पोर्टस् सेन्टर’का संचालक हुन् । संचालकमध्येकै दिपक बाँस्तोलाले शुरुमा जिमखानाको कन्सेप्ट ल्याए । उनी आफैँ पनि ‘जिमर’ भएकोले यसमा राम्रो गर्न सकिने उनको दाबा थियो । र, चारजनाबीच ‘टिमअप’ भयो । तर चारजना भैसकेपछि अलिक फरक शैलीमा किन नजाने त ? भन्ने विषयमा कुराकानी अगाडि बढ्यो । संचालक मध्येका सुभाषचन्द्र बस्नेत वैदेशिक रोजगारीबाट नेपाल फर्केका थिए भने राजिव श्रेष्ठ अमेरिकामा थिए । स्पोर्टस् सेन्टर शुरु गर्दाताका नेपालमा रहेका राजिव हाल अमेरिकामै छन् ।

‘कुराकानी अगाडि बढ्दै गएपछि स्पोर्टस् सेन्टरको कन्सेप्ट आएको हो ।’ जिम कन्स्ट्रक्टर तथा संचालक दिपक बाँस्तोलाले भने–‘र, त्यसले मुर्तरुप पनि पायो । एक वर्षको अवधीसम्म आईपुग्दा हामी व्यावसायिक हिसाबले पनि सन्तुष्ट नै छौँ ।’ युवाहरुले मिलेर गरेको कामलाई अहिले घरपरिवार र आफन्तबाट पनि राम्रो प्रतिक्रिया मिलेको छ । ‘अब केहि गर्ने भए भनेर हामीप्रति सबैको विश्वास बढेको पाएका छौँ ।’ दिपकले सुनाए ।

एक वर्षे संचालन अनुभवबाट संचालकहरुलाई यो लागेको छ कि पोखरामा मानिसहरु निकै ‘हेल्थ कन्सस’ बन्दै गएका छन् । ‘टिनएजर्सदेखि ६५ वर्षसम्मको वृद्ध मानिसहरु हाम्रो हेल्थ सेन्टरमा आएर व्यायाम गर्छन् ।’ संचालक सुभाषचन्द्र बस्नेत भन्छन्–‘यसमा महिला र पुरुषको संख्या उस्तै छ ।’ मानिसहरु ‘हेल्थ कन्सस’ हुँदा त्यसको प्रत्यक्ष लाभ स्पोर्टस् सेन्टरको व्यवसायिकतामा पनि देखिएको उनले सुनाए ।

६ रोपनी क्षेत्रफलमा फैलिएको ‘रानीपौवा स्पोर्टस् सेन्टर’ले दैनिक ५ सय जनासम्मलाई धान्ने क्षमता राख्छ । प्रशस्त पार्किङको व्यवस्था पनि रहेको स्पोर्टस् सेन्टरमा यूरोपियन स्ट्याण्डर्डको फुटसल, जिमखाना, कार्डियो र जुम्बाका लागि प्रशिक्षकको व्यवस्था पनि छ । सँगै विशेष खालका ग्राहकहरुका लागि उसले ‘पर्सनल ट्रेनर’को व्यवस्था पनि गरेको छ । ‘स्पोर्टस् सेन्टर’मा हाल १५ जनाले रोजगारी पाएका छन् ।

Check Also

पोखरा आउँदै गरेको स्कुटर बस मुनि, हेलमेटले जोगायो स्कुटर चालकको ज्यान (भिडियो सहित)

पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट …