Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » ‘यातायात क्षेत्रबाट कर असुल्न मात्र ध्यान’

‘यातायात क्षेत्रबाट कर असुल्न मात्र ध्यान’

रञ्जन अधिकारी पोखरा, २६ साउन / यातायात व्यवसायीले राज्यको ध्यान यातायात क्षेत्रबाट कर असुल्न मात्र केन्द्रित रहेको आरोप लगाएको छ । अनेक शीर्षकमा कर मात्र असुल्ने तर यातायात क्षेत्रमा राज्यले गर्नुपर्ने केहि काम नभएको उनीहरुले गुनासो गरे ।

ट्याक्सी व्यवसाय समिति पोखराको विहीबार पोखरामा आयोजित ३७ औं महासमिति बैठक एवं वार्षिक साधारणसभामा सहभागी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीले राज्यले उचित नीति निर्माण गरी व्यवस्थित गर्न र लगानीको वातावरण सुरक्षित गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासंघका केन्द्रिय अध्यक्ष डोलनाथ खनालले राज्यका हरेक अंगबाट लगानीकर्ताप्रति गरिने व्यवहार पीडादायी रहेको गुनासो गर्दै नागरिकको मात्र लगानी रहेको यो महत्वपूर्ण क्षेत्रलाई राज्यले बुझ्नै नसकेको बताए । उनले भाडा समायोजन तथा क्यारिअरका सम्बन्धमा महासंघले कार्यदल बनाएको जानकारी दिए । छतमा क्यारियर हटाउने निर्णय आपत्तिजनक रहेको बताउँदै खनालले विधान संशोधनको तयारीमा रहेको पनि जनाए । ‘यातायातबाट कसरी कर असुल गर्ने मात्रै ध्यान छ । अनेक शीर्षकमा कर बुझाउनुपर्छ । सडक कर, जाँचपासदेखि महानगरसम्म विभिन्न कर बुझाउनुपर्छ । पार्किङ कर बुझाईसकेका हुनेछौं, रुट इजाजत पहिल्यै बुझाएको ेछौं अनि फेरि महानगरलाई कति बुझाउने कर ?’ खनालले प्रश्न गरे । उनले ट्याक्सी व्यवसाय समिति पोखरा अग्रणी संस्था रहेको उल्लेख गर्दै मुलुककै गर्वलायक भएकाले सोहि अनुसार अघि बढ्न सुझाव दिए ।

महासंघका उपाध्यक्ष भरत तिमिल्सिनाले सवारी दुर्घटनाको सम्पूर्ण दोष यातायात व्यवसायीले खेप्नुपर्ने गुनासो गर्दै सामाजिक सुरक्षाको पनि माग गरे । सरकारले हचुवाको भरमा नीति निर्माण गर्दा व्यवसायीहरु पलायन हुने भन्दै उनले सरकारसँग यस क्षेत्रको समस्या समाधानका लागि वार्तामा बस्न तयार रहेको बताए ।

महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले तीन खर्ब जतिको निजी लगानी, लाखौंले रोजगारी १८ प्रतिशत बढि राजश्व तिर्ने यातायात क्षेत्रलाई राज्यले वास्ता नगर्नु दुःखद रहेको बताए । उनले ट्याक्सी व्यवसाय समिति पोखरालाई सदैव साथ दिने बताउँदै सेवामुखी भएर काम गर्न आग्रह गरे । महासंघका कोषाध्यक्ष सुयश पौडेलले ट्याक्सी व्यवसाय समिति उदाहरणीय समिति रहेको भन्दै प्रशंसा गरे ।

सो अवसरमा नेकपा एमाले कास्कीका सचिवालय सदस्य युवराज पौडेल, महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारी, गण्डकी अञ्चल संयोजक सिंहबहादुर कार्की लगायतले बोलेका थिए । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एवं महासंघ केन्द्रिय सदस्य ऐनकुमार साईले यातायात क्षेत्रमा स्वमुल्यांकन पनि आवश्यक रहेको भन्दै सबै एकतावद्ध भएर अघि बढ्न आग्रह गरे । समितिका निवर्तमान अध्यक्ष गान्धीराज गिरीले ट्याक्सी व्यवसायी र मजदुरका हकहितका सवालमा सधैं आफू लागि पर्ने बताए ।

नेपाल यातायात मजदुर संघ कास्की सचिव अर्जुन खनाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष विष्णु खत्री, अखिल नेपाल मजदुर संघ कास्की अध्यक्ष रमेश सिंखडा, यातायात व्यवसायीका तर्फबाट स्थानीय श्रृंगा यातायततका अध्यक्ष केदार पौड्याल, पत्रकार कमल पौडेल अथक लगायतले बोलेका थिए ।

समितिका अध्यक्ष प्रकाशमणि तिवारीको अध्यक्षतामा भएको साधारणसभाको बन्दसत्रले महासचिव युवराज भट्टराई र कोषाध्यक्ष सूर्यबहादुर थापाले प्रस्तुत गरेको प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको थियो । राज्यलाई २४० प्रतिशत कर तिरेर भित्रिएका सवारी साधनमाथि पछिल्लो क्रममा महानगरपालिकाले २५० रुपैंयाको ट्याक्सीको सवारी करलाई ४०० प्रतिशत वृद्धि गरी एक हजार पु¥याएकोमा विरोध गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट चालक, व्यवसायी तथा चालकका छोराछोरीमध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो भने मृत्यु भएका चालकका परिवारलाई आर्थिक सहयोग गरिएको थियो ।

Check Also

नागरिक अभियन्ता पौडेललाई सामाजिक सेवा सम्मान

रञ्जन अधिकारी पोखरा, २ भदौ / पोखरा बस व्यवसायी समितिले हर्क बहादुर गुरुङ स्मृति सामाजिक …